Aafno Khabar

नेकपा एमाले फटकशिलामा पुनः घोरासैनीको नेतृत्व, सबैलाई समेट्ने प्रतिबद्धता

  • आफ्नो खबर
  • २०७८ कार्तिक ७ गते ०८:४२ प्रकाशित

काठमाडौं । नेकपा एमालेले आज देशव्यापी वडा अधिवेशन सम्पन्न गरेको छ। थापाथलीस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि देशव्यापी रूपमा वडा अधिवेशन सुरु भएका थिए ।

६ हजार ७ सय ४३ वडामध्ये बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद मिलाउन बाँकी केही वडामा मात्रै अधिवेशन हुन बाँकी छ। अधिवेशन हुन बाँकी वडामा अधिवेशन चाँडै गर्न अध्यक्ष ओलीले निर्देशन दिएका थिए। सम्बन्धित पालिका कमिटीले वडा अधिवेशन सम्पन्न गर्ने छन्।

अधिवेशन सम्पन्न भएसँगै परिणाम आउन थालेका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ५ हजार भन्दा बढी वडामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको विवरणहरु आएको जानकारी दिए। अन्य जिल्लामा जस्तै सिन्धुपाल्चोक जिल्लाका अधिकांश वडामा पनि आज अधिवेशन सम्पन्न भएको छ। जिल्लाको मेलम्ची नगरपालिका वडा न १३ फटकशिलाले ऐतिहासिक प्रथम वडा अधिवेशन सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ।

नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य तथा पूर्व सांसद सुवास कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले पाँच पदाधिकारी र ३१ सदस्यीय कमिटी सर्वसहमत चयन गरेको हो। यसअघि २०७४ सालमा सम्पन्न अधिवेशनबाट निर्वाचित कमिटीका अध्यक्ष केदार घोरासैनीले छोटो समय मात्रै काम गर्न पाएको र उक्त अवधिमै सक्रिय भूमिका देखाएको भन्दै अधिवेशनले उनलाई नै अध्यक्षको रूपमा पुनः निर्वाचित गरेको छ। त्यस्तै यसअघिका उपाध्यक्ष नगेन्द्र बहादुर आचार्य पनि पुनः सोही पदमा निर्वाचित हुँदा हरेराम राजभण्डारीले सचिवको जिम्मेवारी पाएका छन्। अधिवेशनले रमेश लामिछाने र विनोद तामाङलाई उप-सचिवको जिम्मेवारी दिएको छ।

उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताले अब पार्टीको ध्यान आसन्न स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा राखे। वक्ताहरू नगेन्द्र आचार्य, केशव लामिछाने, शङ्कर ढुङ्गाना, पुष्प दनुवार, हिरा चौलागाईं, शिव ढुङ्गाना आदिको सामूहिक जोड वडामा पार्टीले यस अघिको स्थानीय निर्वाचनमा व्यहोरेको हार तिर केन्द्रित थियो। जनताको दुख सुखमा सधैँ सँगै हुने पार्टी एमाले भए पनि पैसा खर्च गरेर निर्वाचन प्रभावित गर्ने काम वडामा भएको हुँदा पार्टीले त्यो परिणाम व्यहोर्नुपरेको उनीहरूको साझा धारणा थियो। साथै वक्ताहरूले अहिले बनेको नयाँ कमिटीले पार्टीको गरिमालाई माथि उठाउने र आगामी निर्वाचनमा जनताको मन जितेर चुनाव जित्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले नेकपा एमालेका लागि देशैभर एकैचोटि अधिवेशन भएको पहिलो अनुभव भएको हुँदा कात्तिक ६ सर्वाधिक महत्त्वको दिन भएको धारणा राखे। एउटै मञ्चमा अतिथि बनेर बसेका ज्येष्ठ नागरिक देखि नवयुवा सम्मलाई सम्बोधन गर्दै पार्टीको पहिचान नै यही समावेशिता भएको उनको धारणा थियो। देशभरको सबैभन्दा लोकप्रिय पार्टी विगत ४ वर्षदेखि जाम भएर बसेको भए पनि जनताको सुख दुखमा साथ दिएको कारण आज अझै बढी सक्रिय रूपमा उदाएको उनको भनाइ थियो। अब पनि वडामा नेकपा एमालेले चुनाव हारे विकास कमजोर हुने, सामान्य जनता र पछाडि पारिएकाले न्याय नपाउने हुँदा चुनाव जित्नुपर्ने र देशभर त्यो क्रम कायम राख्दै कामको सिलसिलामा विदेशी भूमि पुगेका ८० लाख नेपाली युवालाई देश फर्काउने जिम्मेवारी पार्टीको रहेको पनि उनको धारणा थियो।

निर्वाचित भइसकेपछि छोटो प्रतिक्रिया दिँदै अध्यक्ष केदार प्रसाद घोरासैनीले सबैका विचार समेट्दै अघि बढ्ने प्रतिबद्धता गरे। जनताको पार्टीको वडा कमिटीको नेतृत्व आफूले गर्दा जनताको सुख दुखमा पार्टी कमिटी सधैँ सँगै हुने र जनताको समस्यालाई सम्बन्धित निकाय सम्म पुर्‍याउने पुलको काम कमिटीले गर्ने उनको भनाइ छ।