सङ्खुवासभा । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार हत्यारा स्थानीय बासिन्दा नै रहेका छन् ।
गत सोमबार बिहान सङ्खुवासभाको सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो ।
उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको हत्या भएको थियो ।
घटनामा स्थानीय चिनेजानकाे व्यक्ति संलग्न रहेकाे अनुमानसहित प्रहरीले अनुसन्धान अगाडि बढाएको थियाे । ती व्यक्तिले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलाएकाे छैन । व्यक्तिगत रिसिइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।
गत सोमबार बिहान परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा शव फेला परको थियो । उनीहरूको चार वटा ठाउँमा शव फेला परेको थियो । उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो ।
पारिवारिक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ । मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ । घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले पत्रकारसम्मेलनमार्फत जानकारी गराउने जनाएकाे छ ।