Aafno Khabar

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइदै, को बन्ला नयाँ मुख्यमन्त्री ?

  • आफ्नो खबर
  • २०७८ भाद्र २५ गते १२:३४ प्रकाशित

काठमाडौं । मुख्यमन्त्री नियुक्त भएको महिना दिन पनि नपुग्दै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । परिस्थितिमा फेरबदल नभए केही दिनमै गठबन्धन भित्रका दलले अविश्वासको प्रस्ताव पेस गर्ने नेताहरुले बताएका छन् ।

प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी्) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

सरकार परिवर्तनको तयारीमा पाँच दलीय गठबन्धन जुटेका छन् । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई प्रदेशमा प्रमाणपत्र लिएलगत्तै संसदीय दलको नेता चुन्ने र त्यसपछि सरकार परिवर्तनको औपचारिक प्रक्रिया सुरु हुने गठबन्धनभित्रका नेताहरुले बताएका छन् ।

प्रदेश १ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, संघीय लोकतान्त्रिक मञ्च मिलेर नयाँ सरकार गठन गर्न लागेका हुन् । प्रदेश १ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टी र नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्न इच्छा राखेका छन् ।

नेपाली काँग्रेस संसदीय दलको नेता राजीव कोइरालाले विपक्षी गठबन्धनभित्र काँग्रेस सबैभन्दा ठुलो पार्टी भएको हैसियतमा स्वाभाविक रुपमा काँग्रेसले सरकारको नेतृत्वमा दाबी गर्ने तर केन्द्रको गठबन्धन भत्कने गरी कुनै कदम नचाल्ने बताएका छन् ।

भदौ ९ गते एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् ।

प्रदेशसभामा एमालेको कुल ५१ सांसद रहेकोमा १० जना नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । प्रदेशसभामा कुल ९३ सांसद छन् । जसका आधारमा बहुमतका लागि कम्तीमा ४६ सांसद आवश्यक पर्छ ।

प्रदेशसभामा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना गरी जम्मा ५० सांसद हुन्छन् ।