काठमाडौं । आयोजना प्रभावितहरूका लागि साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएकाे छ । कम्पनीले शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको हाे ।
उक्त आईपीओमा आयाेजना प्रभावितहरुले भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जानकारी दिएकाे छ ।
आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुला भएकाे हाे । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ मूल्यका दरले ३५ लाख कित्ता अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गरेको हो ।
इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् ।
आईपीओमा ग्लोबल आइएमई बैंक र माछापुच्छ्रे बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा र प्राइम बैंकको रमिते शाखामार्फत आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।