काठमाडौं — पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित विवादास्पद जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगद्वारा बुधबार दायर गरिएको आरोपपत्रपछि माधवकुमार नेपालको संघीय सांसद पद स्वतः निलम्बनमा परेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचार तथा फौजदारी मुद्दा दर्ता भएसँगै सार्वजनिक ओहदामा रहेका व्यक्तिहरूको पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था रहेको छ।
नेपाल हाल रौतहट–१ बाट प्रतिनिधिसभाका सांसद हुन्। उनीमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ।
काभ्रेको साँगा, नासिकास्थान, महेन्द्रज्योति क्षेत्रमा सञ्चालनमा रहेको कम्पनीले कानुनी हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, कम मूल्यमा किनेर पछि बढी मूल्यमा बिक्री गरिएको, र त्यसमार्फत गैरकानुनी लाभ लिएको ठहर आयोगको छ।
आयोगका अनुसार, कम्पनीका संस्थापक शालीग्राम सिंहसहित प्रतिवादीहरूले कम्पनीको नाम दुरुपयोग गरी सरकारी ओहदा भएकाहरूको मिलेमतोमा बदनियतपूर्वक लाभ लिन खोजेका छन्। आयोगको दाबीअनुसार भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० र ११ विपरीत काम गरिएको र सोही कारण विवादास्पद जग्गा जफत गरी सरकारी सम्पत्ति कायम गरिनुपर्ने माग राखिएको छ।
आयोगको ठहर छ कि जिम्मेवारीमा रहेका राष्ट्रसेवकहरूले आफ्नो पदको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिसम्बन्धी निर्णयमा निजी स्वार्थ राखेर गैरकानुनी तरिकाले निर्णय गरेका छन्।