काठमाडाैं । बुधबारदेखि निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको पहिलो दिन २ गुणा बढी आवेदन परेकाे छ । पहिलो दिनमा यतिधेरै आवेदन परेकाे याे पहिलाेपटक हाे ।
५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब २० करोड १८ लाख २६ हजार रकम बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।
आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्ता देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यो आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ ।
यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा गरेकाे हो ।
त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।