काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक शुक्रबार बस्न लागेकाे छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । बैठकमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने बताइएकाे छ । विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।
यसअघि काेराेना भाइरसकाे दाेस्राे लहरका कारण गरिएकाे निषेधाज्ञा अझ खुलिसकेकाे छैन । विभिन्न समयमा खुकुलाे गरी निषेधाज्ञा थप भइरहेकाे छ । पछिल्लाे समय सार्वजनिक यातायातका सवारी खुलाएपछि पुन: काेराेना संक्रमणदर बढीरहेकाे छ ।
पछिल्लो १० दिनमा सक्रिय संक्रमितको संख्या २५ हजारबाट बढेर ३० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सक्रिय संक्रमितको संख्या ३० हजार ३९० पुगेको छ । १० दिनअघि ४ साउनमा सक्रिय संक्रमितको संख्या २५ हजार ८३७ थियो ।
दैनिक संक्रमितको संख्या बढ्दै आएको छ । त्यो अनुपातमा निको हुनेको संख्या भने बढ्न सकेको छैन । जसले गर्दा सक्रिय संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।