Aafno Khabar

२०१५ सालको हुलाक टिकटमा चुच्चे नक्सा भएको विश्लेषक सौरभको दाबी गलत

  • आफ्नो खबर
  • २०७८ साउन १४ गते १०:०४ प्रकाशित

गत साउन ५ गते एपी वानको ‘तमसो मा ज्योतिर्गमय’ कार्यक्रममा प्रस्तोता टीकाराम यात्रीको एक प्रश्नको जवाफ दिँदै सौरभको नामबाट चिनिने राजनीतिक विश्लेषक दिनेश सत्यालले भनेका थिए –

“मलाई जहाँसम्म एकदम सम्झना छ, २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ । १७ साल पछि आएर नक्सा (जारी) गर्दा त्यो चुच्चे छैन । उहाँ (ओली) ले फर्काएर ल्याउनुभो ।”

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालको समीक्षा गर्दै उनले यो दाबी गरेका थिए । सौरभको दाबी सही हो कि होइन भन्ने पत्ता लगाउन साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

विसं २०१५ अर्थात् सन् १९५८ र १९५९ मा छापिएका हुलाक टिकटहरु :

हुलाक सेवा विभाग अन्तर्गतको फिलाटेलिक तथा हुलाक व्यवस्थापन विभागका अनुसार विक्रम सम्वत २०१५ साल अर्थात् सन् १९५८ मा प्रकाशित दुई हुलाक टिकटमा नेपालको नक्सा प्रयोग गरिएको छैन । तिनमा काठमाडौँको आकाशमा चरा उडिरहेको चित्र भएको नेपालको पहिलो एयरमेल (हवाइ पत्र ) र मानव अधिकार दिवसको उपलक्ष्यमा प्रकाशित लुम्बिनी मन्दिरको चित्र भएको टिकट पर्दछन् । सन् १९५९ को फेब्रुअरीमा प्रकाशित पहिलो आम निर्वाचनसम्बन्धी हुलाक टिकटमा नेपालको नक्सा र झण्डा छ तर चुच्चे नक्सा छैन । सोही साल प्रकाशित अन्य हुलाक टिकटमा पनि नेपालको नक्सा छैन । सन् १९५४ मा नक्सा श्रृङ्खला अन्तर्गत प्रकाशित हुलाक टिकटमा नेपालको नक्सा छ तर चुच्चे नक्सा छैन ।

यो विवरण हामीले फिलाटेलिक तथा हुलाक व्यवस्थापन विभागमा उपलब्ध ‘नेपाल पोस्टेज स्ट्याम्प क्याट्लग १८८१-२०१५’ शीर्षक पुस्तकबाट लिएका हौँ। माथिका विवरणहरुको पुष्टि नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले पनि गरे । यसर्थ विक्रम सम्वत २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा भएको लेखक सौरभको दाबी गलत ठहर्छ ।

–याे सामग्री हामीले southasiacheck.org बाट लिएका हाैँ ।