Aafno Khabar

क्रिष्टियानाे राेनाल्डाे युभेन्टमा नै रहने

  • आफ्नो खबर
  • २०७८ साउन १४ गते ०८:३४ प्रकाशित

काठमाडाैं । विश्व चर्चित फुटबलर क्रिष्टियानाे राेनाल्डाे युभेन्टमा नै रहने भएका छन् । युरोकप पछि केही समय पोर्चुगलमा आराम गरेका रोनाल्डो पुनः युभेन्ट्सकै प्रशिक्षणमा फर्किएका छन् ।

युभेन्ट्ससँग उनको नयाँ सम्झौता त भएको छैन । तर पनि रोनाल्डो युभेन्ट्समै रहने बताइएको छ । यसअघि रोनाल्डो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चा थियो ।

युरोकपमा सर्वाधिक गोल गरेका रोनाल्डोको पोर्चुगल प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको थियो । पोर्चुगल बेल्जियमसँग १–० गोलले पराजित भएको थियो । विश्व फुटबलका सबैखाले उपाधि जितिसकेका रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस् पुगेका थिए ।

९ वर्ष रियलमा बिताएका रोनाल्डोले रियललाई क्लब फुटबलका सबै खाले उपाधि जिताएका थिए.

युभेन्टसलाई पनि उनले दुईवटा सिरी ‘ए’ उपाधि जिताइ सकेका छन् । युभेन्टसका लागि उनले एक सय ३३ खेल खेल्दै एक सय एक गोल गरेका छन् ।