Aafno Khabar

विश्वासकाे मत पाएका देउवा बाँकी अवधिका लागि कति सुरक्षित ?

  • आफ्नो खबर
  • July 19, 2021 प्रकाशित

काठमाडाैं । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सफल भए । नेपाली कांग्रेस, नेकपा माओवादीसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिएपछि उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।

देउवाले १६५ मत प्राप्त गर्न सफल भए । विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

२ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक रहेको थियो ।

संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने व्यवस्था छ । त्यसैले तत्काल अविश्वासको प्रस्ताव मार्फत देउवालाई हटाउने विकल्प प्रतिपक्षी दलसँग छैन ।

तर, प्रधानमन्त्री देउवाको सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिए देउवाले पुन: त्यसको एक महीनाभित्र विश्वासको मत लिनुपर्छ । त्यसैले देउवा सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता नलिएको अवस्थामा देउवा सरकार प्रतिनिधि सभाको बाँकी कार्यकाल करीब डेढ वर्ष रहनेछ ।

त्यसपछि देउवाले आफ्नै नेतृत्वमा चुनाव गराउनेछन् । प्रधानमन्त्री देउवाले बीचमै प्रतिनिधि सभाको विश्वास गुमाए भने पनि प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्न पाउनेछन् ।