Aafno Khabar

प्रधानमन्त्रीबारे वैद्यकाे आपत्तिजनक अभिव्यक्तिपछि कसले के भने ?

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २९ गते ११:४४ प्रकाशित

काठमाडाैं । वागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले शुक्रबार प्रदेश सभामा दिएको अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना भइरहेकाे छ । कांग्रेस सांसद् वैद्यले प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

उनले भनेका थिए, ‘ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ,’ त्यसपछि वैद्यले भनेका थिए, ‘खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्‍यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’

वैद्यकाे यसकिसिमकाेे अभिव्यक्तिपछि नेपाली कांग्रेका नेताहरुले नै अभिव्यक्ति तत्काल फिर्ता लिएर निशर्त माफी माग्नुपर्ने बताएका छन् । वैद्यले प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको आरोप पनि लगाएका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति फिर्ता लिएर आत्मआलोचना गर्न निर्देशन दिएका छन् । उनले भनेका छन् ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न l शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ ।’

वागमती प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले सांसद वैद्यको अभिव्यक्तिले पार्टीको गम्भीर ध्यानार्षण भएको बताएका छन् । उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन दिँदै उनले भनेका छन्, ‘कांग्रेस सांसद नरोत्तम वैद्यले आज वागमती प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु ।’

उक्त अभिव्यक्तिको नेकपा (एमाले)का नेता योगेश भट्टराईले विरोध गर्दै वैद्यले तत्काल माफी माग्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘वागमती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।’

एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री ओलीबारे त्यस्तो अभिव्यक्ति दिने वैद्यलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने बताएका छन् । ‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम वैद्यले प्रदेश सभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ,’ उनको माग छ ।

उक्त अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)ले पनि आपत्ति जनाएको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गरी वैद्यले शुक्रबार प्रदेशसभामा दिएको अभिव्यक्तिको विरोध जनाएका हुन् ।

वैद्यको उक्त अभिव्यक्तिले एमालेलाई गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ । ‘वाग्मती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ’ विज्ञप्तिमा भनिएकाे छ ।

नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले ‘वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन’ माग गरेका छन् । उनले यसमा गम्भीर षड्यन्त्र लुकेको र यसमा संलग्न सबै दोषी पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्यसत्य पत्ता लगाउन पनि सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि ‘प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ।’ भनी ट्वीटरमा लेखेका छन् ।