Aafno Khabar

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्त

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २७ गते १८:१९ प्रकाशित

काठमाडाैं । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । अब मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् ।

गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार बिहीबार विश्वासको मत लिन प्रयास गरेका थिए । तर उनी असफल बने ।

६० सदस्यीय प्रदेशसभामा ५८ जना उपस्थित भएका थिए भने ५७ जनाले मात्र मतदान गरेका थिए । त्यसमध्ये गुरूङको प्रस्तावको पक्षमा २७ जनाले मात्र मतदान गरे भने विपक्षमा ३० जनाले मतदान गरे ।

माओवादी सरकारबाट अलग भएपछि तथा राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि गुरुङले वैशाख अन्तिम सातामा पदबाट राजीनामा दिएका थिए । तर लगत्तै उनी प्रदेशसभामा भएको ठूलो दलको नेताको हैसियमा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । तर ३० दिनभित्र लिनुपर्ने विश्वासकाे मतमा भने उनी असफल रहे ।