काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मन्त्रिपरिषद्मा एमाले, पूर्वमाओवादी समूह र जसपाका समेत नेता समेटिएका छन् । नव नियुक्त मन्त्रीहरूको बिहीबार चार बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग मन्त्रीमा जसपाका राजकिशोर यादव नियुक्त भएका छन् । यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।
२०७८ वैशाख ३१ गते संसदको ठूलो दलको नेताको हैसियतले ओली अल्पमतको प्रधानमन्त्री बनेका थिए । तर, संसदमा बहुमत पुर्याउन नसक्ने भन्दै मार्ग प्रश्स्त गरेका ओलीले संसद विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गरेको यो दोस्रोपटक हो ।