Aafno Khabar

मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री ओली, यी हुन् सम्भावित नयाँ मन्त्री

  • आफ्नो खबर
  • June 6, 2021 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग रहेको मन्त्रालयबाट केही मन्त्री थप्ने तयारी गरिरहेका छन् । सम्भवतः आइतबार साँझसम्म मन्त्री थपेर पद तथा गोपनीयताको शपथ गराउने तयारी रहेकाे प्रधानमन्त्री निकट स्राेतले बताएकाे छ ।

प्रधानमन्त्रीसँग सातवटा मन्त्रालय रहेको छ । मन्त्रीकाे आकांक्षी धेरै भएकाले कुरा मिलाउन केही समय लाग्ने देखिएकाे छ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारका बारेमा नेताहरुसँग अनाैपचारिक छलफलमा रहेका छन् ।

प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, कृषि तथा पशुपन्छी विकास, उद्योग बाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफूसँगै राखेर बाँकी मन्त्रालयको जिम्मेवारी बाँडफाँटको तयारी गरेकाे स्राेतकाे भनाइ छ ।

गृह मन्त्रालयका लागि पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेत, सुदूरपश्चिमका नेता कर्ण थापाको नाम चर्चामा छ ।

त्यस्तै, मन्त्री बन्ने अन्य सूचीमा नारदमुनी राना, राजेन्द्र गौतम, विशाल भट्टराई, पार्वती विसंखे, राजबहादुर शाही, झपट बोहरा, विद्या भट्टराई, विमला पौडेल राईलगायतको नाम चर्चामा छ ।