Aafno Khabar

चीनमा अब एक दम्पतीले तीन वटासम्म सन्तान जन्माउन पाउने

  • आफ्नो खबर
  • २०७८ जेष्ठ १७ गते १५:१५ प्रकाशित

तस्बिर : सिन्ह्वा ।

काठमाडौं । चीनमा अब एक दम्पतीले तीन वटासम्म सन्तान जन्माउन पाउने भएका छन् । सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङकाे अध्यक्षतामा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले एक जोडीले तीन सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो ।

चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको जनसंख्या बढी भएको केही समयअघिकाे जनगणनाले देखाएको थियो । त्यहाँ महिलाभन्दा पुरुषको जनसंख्या बढी भएकाले विवाहका लागि पुरुषले महिला पाउन निकै गाह्रो भएको बताइएको थियो ।

यो नीतिले जनसंख्या बढ्ने र चिनियाँ जनसंख्याको ढाँचामा सुधार आउने चीन सरकारको अनुमान छ । यसअघि चीनमा एक सन्तानको नीति थियो । जसका कारण चीनको जनसंख्यामा भारी कमी आएको थियो ।

तर सन् २०१६ यता चीनमा एक जोडीले २ वटा सन्तान जन्माउन पाउने नियम बनाइएको थियो । जनसंख्यामा सुस्त वृद्धि देखिएपछि फेरि तीन सन्तानको नीति लागू गरिएकाे हाे ।