Aafno Khabar

के हाे नेपाल टेलिकमकाे VoLTE सेवा ? यसरी गर्न सकिन्छ सेवा सुरु

  • आफ्नो खबर
  • May 16, 2021 प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले साेमबारदेखि भ्वाइस ओभर लङटर्म इभोलुसन (भीओएलटीई) सेवा सुरु गर्न लागेकाे छ । टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको सुरुवात गर्न लागेको हो ।

फोरजीमा एलटीई प्रविधि अन्तर्गत यो सेवा सुरु गर्न लागेकाे टेलिकमले जनाएको छ ।

यो सेवा उपलब्ध भएपछि फोरजी मोबाइलमा हाइ डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने कम्पनीले जनाएको छ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# ​डायल गरी प्राप्त निर्देशनहरूको अनुशरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गइ भीओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ ।

भीओएलटीईको संकेत देखा परेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ ।