Aafno Khabar

हालसम्म ५५० जना पत्रकारमा कोरोना भाइरस संक्रमण, ७ जनाकाे मृत्यु

  • आफ्नो खबर
  • २०७८ बैशाख २१ गते ०९:१२ प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासंघका अनुसार हालसम्म ५५० जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएकाे छ । संक्रमितमध्ये ७ जनाकाे निधन भएकाे महासंघले जनाएकाे छ । महासंघका महासचिव राेशन पुरीले साेमबार विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका हुन् ।

पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघमा अभिलेखभएअनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ। संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको छ ।’

कोरोना संक्रमण भएर उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् । महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।