Aafno Khabar

साथीहरुसँग मिलेर माग्ने बुढाले सुरु गरे नि:शुल्क एम्बुलेन्स सेवा

  • आफ्नो खबर
  • May 2, 2021 प्रकाशित

काठमाडौं । सर्वसाधारणको सेवाका लागि भन्दै कलाकारहरुको एक समूह अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् ।

अभिनेता निखिल उप्रेती, हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आईजीपी नेपाल प्रहरी सर्वेन्द्र खनाल, डा. सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधानलगायतले मिलेर सो एम्बुलेन्स सेवा सुरु गरेका हुन् । निःशुल्क एम्बुलेन्स सेवाले आर्थिक अवस्था कमजोर भएकोलाई राहत मिल्ने उनीहरुले बिश्वास लिएका छन् ।

‘हामीले सुरु गरेको एम्बुलेन्स सेवा सबैका लागि हो’ केदार घिमिरेले भने, ‘हामीले तीनवटा फोन नम्बर सार्वजनिक गरेका छौँ । त्यसमा फोन गर्नेले जो कोहीले पनि हाम्रो सेवा पाउनेछन् ।’ सो सेवा अहिले उपत्यकामा मात्र रहेको छ । एम्बुलेन्समा नर्स, अक्सिजनलगायत सेवा समेत उपलब्ध हुने बताएका घिमिरेले थपे ‘पीडितले जुन अस्पताल भन्यो त्यो अस्पतालमा पुर्याउने सम्मको काम हामी गर्दछौ ।’

साथीहरुसँग १५/१५ हजार उठाएर कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा सुरु गरेको घिमिरेको भनाइ छ ।