Aafno Khabar

सफल कप्तान विराजको बिदाइमा यस्तो देखियो रंगशाला (फोटो खबर)

  • आफ्नो खबर
  • २०७७ चैत्र १६ गते २०:२३ प्रकाशित

काठमाडौं । नेपाली फुटबलका सफल कप्तान हुन् विराज महर्जनले आजबाट अन्तराष्ट्रिय फुटबलमा संन्यास लिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्धको खेलसँगै विराजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

बंगलादेशविरुद्ध खेलको ८९ औं मिनेटमा त्रिदेभ गुरुङको स्थानमा मैदान प्रवेश गरेका ३० बर्षिय विराजले घरेलु दर्शकमाझ अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए ।

विगत एक वर्ष देखि अन्तराष्ट्रिय फुटबलमा पर्न नसकेका विराज आफ्नो अन्तराष्ट्रिय खेल जीवनको सुखद अन्त्य चाहन्थे । जुन आज नेपाली फुटबलले परा गर्यो र एन्फाले घरेलु दर्शक माझ सुखद् बिदाइ गर्यो । क्लब फुटबलमा भने उनलाई देख्न सकिनेछ ।

गत वर्ष मलेसियासँग उसैको मैदानमा ९० मिनेट बिताएका विराज त्यस यता भने राष्ट्रिय टोली बाहिर रहँदै आएका थिए । फाइनल अघि विराजले राष्ट्रिय टोलीबाट ७२ क्याप जित्दै १ गोल गरेका छन् । फाइलनमा ७३ क्याप पुरा गरेका विराज नेपालका लागि सर्बाधिक खेल खेल्ने खेलाडी समेत बने । उनले गत सागमा ६८ क्याप पुरा गर्दै पूर्व कप्तान राजुकाजी शाक्यको नाममा रहेको सर्बाधिक क्यापको किर्तिमानी भंग गरेका थिए ।

लेफ्ट ब्याक विराजले सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । त्यस यता उनले १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल मात्र गरेका छन् । उनले सन् २००९ मा दशरथ रंगशालामा किर्गिस्तानविरुद्ध फ्रिकिकमा गोल गरेका थिए ।

हाल घरेलु फुटबलमा मछिन्द्र फुटबल क्लबका लागि खेल्दै आएका विराजले गत सिजनको लिगमा समेत मछिन्द्रलाई आफ्नो कप्तानीमा पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि दिलाएका थिए । यस अघि उनले मनाङ मर्स्याङ्दी क्लबलाई आफ्नै कप्तानीमा किर्तिमानी आठौं पटक र थ्रीस्टारलाई समेत लिगको उपाधि दिलाएका थिए ।

विराजको नेतृत्वमा नेपालले तिन मुख्य उपाधि पनि जितेको छ । सन् २०१६ मा बंगलादेशको ढाकामा भएको प्रतियोगितामा नेपालले विराजकै कप्तानीमा बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो ।

लगत्तै सोहि वर्ष नेपालले मलेसियामा भएको सोलिडारिटी कप र भारतको गोवामा भएको १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेको थियो । तिनै खेलमा नेपालको कप्तानी विराजले गरेका थिए ।