Aafno Khabar

मह जोडिलाई महामुर्खको उपाधि

  • आफ्नो खबर
  • २०७७ चैत्र १५ गते १९:५० प्रकाशित

जनकपुर । मह जोडिलाई यो वर्षको महामुर्ख उपाधि प्रदान गरिएको छ। होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको हो।

प्रत्येक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई यो उपाधि प्रदान गरिने भए पनि यस वर्ष मह जोडीलाई उपाधि दिइयो । महामुर्खको उपाधि पाएपछि महजोडीलाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारीमिश्रित माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

महामुर्खको उपाधि दिने विगत २२ वर्षको परम्परा अनुसार यसअघि परिषदले कवि नरेश ठाकुर, एमाले नेता शत्रुधन महतो, जसपा नेता डा.विजयकुमार सिंह, वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, माओवादी केन्द्रका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, जसपाका नेता वृषेशचन्द्र लाल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतलाई उपाधि प्रदान गरिसकेको छ। महामुर्ख सम्मेलनमा यस वर्ष मुर्ख शिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ।