Aafno Khabar

आठ महिनामा ५ अर्ब वैदेशिक अनुदान

  • आफ्नो खबर
  • २०७७ चैत्र ११ गते ०९:२९ प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जम्मा पाँच अर्ब रुपैयाँ वैदेशिक अनुदान सहायता प्राप्त भएको छ । साउनदेखि फागुनसम्म पाँच अर्ब ३० करोड रुपैयाँ मात्रै वैदेशिक अनुदान सहायता प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यो कुल लक्ष्यको जम्मा आठ दशमलव ७७ प्रतिशत मात्रै हो। बजेटमार्फत सरकारले यस वर्षका लागि ६० अर्ब ५२ करोड रुपैयाँ वैदेशिक अनुदान सहायताको लक्ष्य राखेको थियो । यद्यपि अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत वैदेशिक अनुदान सहायताको लक्ष्य घटाएर ३५ अर्ब रुपैयाँमा झारेको छ ।

यस्तै चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पाँच खर्ब ७१ अर्ब रुपैयाँ राजश्व सङ्कलन भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि फागुनसम्म पाँच खर्ब ७१ अर्ब २० करोड अर्थात् कुल लक्ष्यको ५६ दशमलव ४६ प्रतिशत राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।