काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले देशभर पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी कदमकोविरुद्ध देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने निर्णय गरेको हो ।
आज भेलाको समापन गर्दै नेता घनश्याम भुसालले जन संगठन र पार्टी कमिटी एकता पहिलाको अवस्थामा फर्काउने घोषणा गरे । पार्टीको धेरै कमिटीमा आफूहरुको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उनले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताए । आफूहरु आधिकारी कभएको भन्दै उनले ओलीपक्षलाई समानान्तर र गुटबन्दीको संज्ञा दिए । यसरी एकाध महिना काम गर्ने हो भने एमाले पार्टीलाई बचाउन सक्ने र ओलीवाद हार्ने उनले बताए ।
नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे विशेष प्रस्ताव पास गरेको छ । त्यसको निष्कर्ष पनि २ जेठ २०७५ सम्म कायम भएका पार्टी कमिटी, जनवर्गीय पेशागत कमिटी, केन्द्रीय विभाग र सम्पर्क मञ्च लगायतका सबै कमिटीलाई सक्रिय बनाउनु रहेको नेताहरुले बताएका छन् ।
भेलाले ‘जनताको बहुदलीय जनवादलाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने’ नवौं महाधिवेशनको कार्यदिशालाई पक्रिने र देशभर पार्टीका भेला, बैठक, प्रशिक्षण सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।