Aafno Khabar

राजाहरुले फिल्म हेर्ने हल २० वर्षपछि खुल्दै

  • आफ्नो खबर
  • २०७७ चैत्र २ गते १८:५६ प्रकाशित

काठमाडौं । नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल अब सर्वसाधारणका लागि खुल्ला हुने भएको छ । तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्यापछि २०५८ सालदेखि बन्द रहेको हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको हो । २० वर्षपछि खुल्न लागेको सिनेमा हलमा सर्वसाधारणले फिल्म तथा डकुमेन्ट्रीहरु हेर्न पाउनेछन् ।

केही हप्तादेखि दरबारभित्र रहेका विभिन्न डकुमेन्ट्री र इभेन्टहरूका रिलहरू प्रोसेसिङ गर्ने काम भइरहेको नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो । ०५८ सालदेखि थन्किएर बसेका रिल चल्ने अवस्थामा रहेको र त्यसलाई प्रोसेसिङ गर्न विशेषज्ञसँग परामर्श गरिएको उहाँले बताउनुभयो ।

दरबार हत्याकाण्डभन्दा अगाडि यो सिनेमा हलमा राजपरिवारका सदस्य र उनीहरुका आफन्तहरुले मात्र फिल्महरु हेर्ने गर्दथे । १ सय १६ सिट क्षमता रहेको सिनेमा हलमा दुईवटा प्रोजेक्टर छन् ।

दरबारभित्र रहेको सिनेमा हलमा बजारमा चल्ने फिल्महरु भने हेर्न पाइने छैन । दरबार संग्रहालय घुम्नका लागि काटिने टिकटबाट नै फिल्म, डकुमेन्ट्री हेर्न मिल्ने व्यवस्था मिलाउन लागिएको छ ।