Aafno Khabar

४ सन्तानसहित दैलेखकी एक महिला कर्णाली नदिमा हाम फालिन

  • आफ्नो खबर
  • २०७७ फाल्गुन २५ गते १०:४२ प्रकाशित

सुर्खेत । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी छन। नदीमा हाम फालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । ।

प्रहरीका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको हो ।

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए । बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।