Aafno Khabar

विश्वराज पोखरेलविरुद्ध उजुरी, रोकिएला त उनको प्रहरी महानिरीक्षक बन्ने बाटो ?

  • आफ्नो खबर
  • December 7, 2020 प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न मंसिर १५ मा सिफारिस गरेको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा विश्वराजलाई ब्याचबाट एकल बढुवा गर्दै महानिरीक्षक बन्ने प्रतिष्पर्धा अन्त्य गरिएको भन्दै समितिमा उजुरी परेको हो । समितिले यो विषयमा छलफल राख्ने तयारीसमेत गरेको छ ।

आउँदो चुनावमा सहयोग गर्ने आशाका साथ उपप्रधानमन्त्री इश्वर पोखरेलका आफ्न्त विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षक बनाउने खेल भइरहेको भन्दै आलोचना भइरहेको छ । यो निर्णयमा प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट छ । यस विषयमा पोखरेलका समकक्षी डीआईजीहरुले असन्तुष्टी पोखेका छन् ।