Aafno Khabar

पशुपतिनाथ मन्दिर पुस १ देखि भक्तजनका लागि खुला गरिने

  • आफ्नो खबर
  • November 30, 2020 प्रकाशित

काठमाडौं । कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउँदो पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराइ अर्को ढोकाबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ ।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन् ।

सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि पशुपतिनाथ मन्दिर खुला नभएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ,संस्थाले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए ।