Aafno Khabar

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान

  • आफ्नो खबर
  • २०७७ कार्तिक २२ गते प्रकाशित

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।

इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायीक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालयमा बुझाउनु पर्ने छ ।

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक तथा कर्मचारी पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाको लागि सिफारिस गर्ने जिम्मेवारी शिक्षक सेवा आयोगलाई तोकिएको छ ।

आयोगका अध्यक्ष ताना गौतमको कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि हाल आयोग पदाधिकारीविहीन छ । सरकारले आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनुभन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको योग्यता तोकेको छ ।

अध्यक्ष पदका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको र सदस्यका लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।