Aafno Khabar

आजदेखि खसीबोका बिक्री शुरु, प्रतिकिलो ५ सय ६० रुपैयाँ मात्र

  • आफ्नो खबर
  • October 19, 2020 प्रकाशित

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्ने भएको छ । थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

दाङ र मकवानपुरबाट काठमाडौं ल्याएर बजार मूल्य विश्लेषण गरी प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा दश रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो ।

पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २ सय ५ गरी ४ सय ५ वटा खसीबोका काठमाडौं ल्याइएको छ । यसपालि एक हजार खसीबोका बिक्री गर्ने तयारी छ ।

हरेक वर्ष दशैँमा सरकारले खसीबोका तथा च्याङ्‍ग्रा बिक्री गर्दै आएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि गएको वर्षको तुलनामा मूल्य बढी भएपछि अन्तिममा नल्याउने निर्णय भएको कम्पनीले जनाएको छ ।