काठमाडौं । नेपालमा बढ्दो बलात्कारका घटना उदृत गरेर नायिका ऋचा शर्माले प्रधानमन्त्रीका नाममा खुला पत्र लेखेकी छिन् । पछिल्लो समय देशभर बलात्कार घटना घटिरहेका अवस्थामा देशमा बालबालिका एवं नारी सुरक्षाको चुनौति खडा भएको उनले पत्रमा उल्लेख गरेकी छिन् ।
सरकारमाथि विश्वास गर्ने आफूले अहिले सडकमा एक्लै हिँड्दा डर लाग्ने अवस्था आएको बताएकी छिन् ।
आदरणीय प्रधानमन्त्रीज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ । मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ ।
मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स–साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।
जुन देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौँ झैँ लाग्छ। हामी टेक्नोला‘जीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौँ ।
यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौँ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन। बाँकी तपाईहरु बुझकी ।
निवेदक
एक आम नेपाली नारी
ऋचा शर्मा