Aafno Khabar

सिंचाइ विभागका सिडिईविरुद्ध अख्तियारमा मुद्दा

  • आफ्नो खबर
  • October 2, 2020 प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका सिडिई सुरेशकुमार शर्माले तीन करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

विभिन्न कार्यालय तथा आयोजनाहरूमा कार्यरत रहँदा शर्माले अत्यधिक भ्रष्टाचार तथा अनियमितता गरेको ठहर गर्दै आयोगले शर्माविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, शर्माविरुद्ध कुल तीन करोड छ लाख ५४ हजार नौ सय बत्तीस रुपियाँ बिगो कायम गरिएको छ ।

शर्माले वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति र खर्च लगानीको स्रोत नखुलेको देखिएको छ । आयोगले शर्माको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको निष्कर्ष पनि निकालेको छ ।

सिडिई शर्माले आफ्नो हैसियतभन्दा बढी रकमले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्था तथा कम्पनीहरूका संस्थापक एवम् साधारण शेयरहरु खरिद लगानी गरी खर्च गरेको देखिएको छ ।

सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र शर्माकी श्रीमती बबिता फुयाल शर्मालाई प्रतिवादी कायम गरी सम्पत्तिहरु जफत गरिपाउन पनि मागदाबी गरिएको छ ।