काठमाडौं । नेपालीको रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलको श्रम बजार खुला भएको छ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएसँगै विशिष्ट सीप भएका नेपालीका लागि इजरायलको श्रम बजार खुला भएको हो ।
नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी आस्खेनाजीबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली श्रमिकको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा बुधबार हस्ताक्षर भयो । सहमति पत्रमा हस्ताक्षर भएसँगै केयरगिभर, कृषि, होटल र रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर आउने अपेक्षा गरिएको छ ।
दूतावासका अनुसार प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया सुरु हुनेछ ।
यसअघि नै विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रूपमा इजरायलको नर्सिङ क्षेत्र, नर्सिङ होम, डे केयर सेन्टरमा नेपालबाट केयरगिभर लैजानेसम्बन्धी कार्यान्वयन प्रोटोकलमा छिट्टै सम्झौता हुने जनाइएको छ ।
नेपालका लागि इजरायलका राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौँमा हस्ताक्षर भएपछि केही महिनाभित्रै पहिलो चरणमा पाँच सय नेपाली इजरायल जान पाउने दूतावासले जनाएको छ ।