Aafno Khabar

नारायणी नदीको बाढी मानव बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा सारियाे

  • आफ्नो खबर
  • September 24, 2020 प्रकाशित

काठमाडौं । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं. २६ मा नारायणी नदी पसेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाईले बिहीबार दिउँसोबाट नारायणी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिनुभयो । ‘नदीले खतराको तह पार गरेको छ त्यसको असर नदीको तटीय क्षेत्रमा परेको छ,’ प्रमुख जिल्ला अधिकारी भट्टराइले भन्नुभयो ।

त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नं. २८ मेघौली क्षेत्र, वडा नं. १६ मंगलपुर क्षेत्रमा बाढी पस्ने खतरा भएपछि वस्तीलाई स्थानान्तरण गरेको भट्टराइले जानकारी दिनुभयो ।

जिल्ला भएर बग्ने नारायणी, रापती, माडीको रिउलगायतको नदी र खोलामा बाढी आएको छ । बिहीबार साँझसम्म मानवीय क्षति नभए पनि घर डुबानमा परेको र भौतिक क्षति भने भएको उहाँले जानकारी दिनुभयो । भौतिक क्षतिको विषयमा विवरण संकलन कार्य जारी रहेको उहाँले बताउनुभयो । यसैगरी, राप्ती नदीमा बाढी आएपछि पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ ।

नदीको किनार क्षेत्रमा बाढी पसेर होटलहरु डुबानमा परेको उहाँले जानकारी दिनुभयो । सरकारले असोज महिना लागेपछि पर्यटकीय क्षेत्र खोल्न अनुमति दिए पनि पर्यटक नआउँदा चिन्तित बनेको सौराहामा बाढी पसेपछि थप चिन्ता छाएको छ । काठ र कच्ची घरहरुमा डुबानले क्षति पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।