Aafno Khabar
Creative Ideas

यसकारण भइरहेकाे छ इन्टरनेट ‘स्लाे’

  • आफ्नो खबर
  • २०७७ भाद्र २१ गते प्रकाशित

काठमाडाैं । इन्टरनेटको गति ‘स्लो’ अर्थात् सुस्त हुनुमा आफूहरुको मात्र कमजोरी नभएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन्।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तर्क्रियामा इन्टरनेट सवा प्रदायकहरुले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारण पनि इन्टरनेट स्लो भइरहेकाे बताएका हुन् ।

भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोराले ८० प्रतिशत इन्टरनेट भिडियाेमा खपत भइरहेकाे जानकारी दिनुभयाे । उहाँले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताउनुभयाे ।

उहाँले भन्नुभयाे ‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ। भोलि यस्तै अर्को एप आउला । धेरे इन्टरनेट खपत गर्ने साइट आउला । त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ । त्यसैले यसको गुनासो पूर्ण रुपमा समाधान हुन सक्दैन ।’

नेपालमा इन्टरनेटको खपत धेरै बढे पनि व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण नभएकाे, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्ने अवस्था रहेकाे उहाँकाे भनाइ थियाे । नेपालमा भाैगाेलिक विकटताका कारण पनि चुनाैती रहेकाे छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको कारण सर्वसाधारण घरभित्र बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप समस्या भएको छ ।

विशेषगरी टिकटक, फेसबुक र युट्युबका प्रयोगकर्ताको संख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुर्‍याउन समस्या भएकाे सुबिसु केवल नेट प्रालीका प्रबन्ध निर्देशक विनयमाेहन साउदको भनाइ छ । लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस व्यान्डविथको माग बढेको उहाँले जानकारी दिनुभयाे ।

अन्तर्क्रिया कार्यक्रममा दूरसञ्चार विज्ञहरुले इन्टरनेटकाे गति सुस्त हुनुमा सेवा प्रदायकहरुमा मात्र दाेष दिन नहुने बताएका थिए ।