Aafno Khabar

कक्षा १२ काे परीक्षा सञ्चालन गर्न विकल्पकाे खाेजी

  • आफ्नो खबर
  • September 5, 2020 प्रकाशित

काठमाडाैं । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे स्थगित परीक्षाकाे विकल्प समेटेर सरकारलाई सुझाव दिने तयारी गरेकाे छ । शिक्षा पत्रकार समाज (सेज) ले शनिबार आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा. डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभर लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाल गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको जानकारी दिनुभयाे ।

उहाँले कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट पार्नुभयाे ।

बोर्डले कोभिड–१९ को जोखिम बढिरहेको र कक्षा १२ को परीक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा १० र ११ का जस्तो आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रियस्तरको परीक्षा गर्न सुझाव तयार गरेको छ । विद्यालय तहका सबै विद्यार्थी अनलाइन सिकाइमा समावेश हुन नसकिरहेको अवस्थामा अनलाइनबाट कक्षा १२ परीक्षा सञ्चालन गर्न वा कोरोना जोखिम नभएका ठाउँमा परीक्षा सञ्चालन गरेर अन्य जिल्लामा फरक फरक मितिमा परीक्षा लिन सकिने पनि सुझावमा उल्लेख छ ।

भर्चुअल वैठकमा विभिन्न प्रदेशबाट शिक्षक, अभिभावक, सञ्चारकर्मी तथा प्रधानाध्यापकहरुकाे उपस्थिति रहेकाे थियाे । सबैले कक्षा १२ काे परीक्षा विद्यालय तहको अन्तिम परीक्षा हुने भएकाले यसलाई व्यवस्थित र मर्यादित हुने गरी सञ्चालन गर्नुपर्ने बताएका थिए ।