Aafno Khabar

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

  • आफ्नो खबर
  • September 4, 2020 प्रकाशित

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिनुभएकाे छ । सरकारकाे प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको हाे ।

राजीनामा दिनुअगाडि उहाँ अर्थ मन्त्रालयमा आयाेजित विदाइ कार्यक्रममा सहभागि हुनुभएकाे थियाे । त्यसपछि उहाँ बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएकाे उहाँका प्रेस सल्लाहकार यमन पाैडेलले जानकारी दिनुभयाे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको एकमात्र रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतम पठाउने निर्णय गरेपछि डा. खतिवडा शनिबारदेखि स्वतः पदमुक्त हुन लाग्नुभएकाे थियाे । स्वतः पदमुक्त हुनुअघि शुक्रबार राजीनामा दिनुभएको हो ।

खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त हुनुभएको थियो । राष्ट्रिय सभामा गोलाप्रथाबाट २ वर्षे कार्यकाल निश्चित गर्नुभएका उहाँको पदावधि सकिएकाे दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः उहाँ दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त हुनुभएको थियो ।