काठमाडौं । ई–कमर्स सञ्चालकहरुले अत्यावश्यक खाद्य सामग्री घरघरमा पुर्याउने काम आजदेखि फेरि सुरु गर्ने भएका छन् । भदौ १२ गते होम डेलिभरी गर्ने विभिन्न ई–कमर्स कम्पनीका कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सेवा बन्द भएको थियो ।
होम डेलिभरी सेवा फेरि सुरु गर्नको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भएको सबै सरोकारवालाको बैठकले मापदण्ड बनाउन समिति गठन गरेको थियो ।
समितिले मापदण्ड टुङ्गो लगाएको छैन । तर निषेधाज्ञाको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको बुँदा ६ मा अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत औषधि, खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दूध तथा दूग्धजन्यपदार्थ साथै दूग्धजन्य पदार्थ प्याकेजिङका सामग्रीहरुको व्यवसाय संचालन गर्न रोक नरहेको तर्फ ध्यानाकर्षण गराउँदै आफूहरुको व्यवसाय रोक्न नमिल्ने होम डेलिभरी तथा ई–कमर्स सञ्चालक फोरमको भनाइ छ ।
सरकारले तोकेको मापदण्डलाई पालना गरी होम डेलिभरी गर्ने कार्यलाई आजैदेखि सुरु गर्ने उनीहरुले निर्णय गरेका छन् ।