Aafno Khabar
suvakamana add

बेरुत विस्फोट : एमोनियम नाइट्रेट के हो ? कति खतरनाक छ ?

  • आफ्नो खबर
  • २०७७ साउन २३ गते प्रकाशित

६ वर्ष पहिला लेबनानको राजधानी बेरुतको समुद्री तटमा एक जहाज जफत गरिएको थियो । उक्त जफत गरिएको जहाजबाट करिब तीन हजार टन एमोनियम नाइट्रेट बरामद गरिएको थियो ।
त्यही बेलामा यो एमोनियम नाइट्रेट बन्दरगाह छेउमा एक ‘वेयरहाउस’मा राखिएको थियो ।

गएको मंगलबार साँझ एमोनियम नाइट्रेट विस्फोट भयो । दर्जनौँ मानिसको मृत्यु भयो । करिब चार हजार मानिस घाइते भए । राष्ट्रपति माइकल इयोनले यसरी असुरक्षित तरिकाले विस्फोटक पदार्थ राख्नेमाथि छानविन गरी कारबाही गरिने बताए ।

एमोनियम नाइट्रेट आखिर के हो ? यो कति खतरनाक छ ?

एमोनियम नाइट्रेट औद्योगिक स्तरमा ठूलो मात्रामा उत्पादन हुने एक सेतो रंगको पदार्थ हो । यसको सबैभन्दा बढी प्रयोग नाइट्रोजनको स्रोतको रुपमा रसायनिक मलका लागि गरिन्छ । यसका साथै यसको प्रयोग विस्फोटक तयार गर्नका लागि पनि गरिन्छ ।

युनिभर्सिटी कलेज अफ लण्डनको रसायन विज्ञानका प्रोफेसर आन्द्रे सेला भन्छन् ‘यो जमिनमा सजिलै पाइने चीज होइन । यो एमोनिया र नाइट्रिक एसिडको प्रतिक्रियाबाट तयार गरिन्छ ।’
एमोनिया नाइट्रेटको उत्पादन दुनियाँभर हुने गरेको छ । किन्नका लागि पनि यो खास महँगो छैन । तर यसको स्टोर गर्नका लागि समस्या हुन सक्छ । यसअघि पनि एमोनिया नाइट्रेडका कारण ठूला र गम्भीर प्रकृतिका दुर्घटना भइसकेको छ ।

प्रोफेसर आन्द्रे सेला भन्छन् ‘एमोनियम नाइट्रेड आफैँमा खतरा भने होइन । जब एमोनियम नाइट्रेड धेरै मात्रामा लामो समयसम्म राखिन्छ आफैँ यो खराब बन्दै जान्छ । वास्तविक समस्या जब आउँछ तब यो लामो समय भण्डारण हुँदा यसले वायुमण्डलको ओस सोस्छ र कडा चट्टान बन्छ । यो चट्टान आगोको सम्पर्कमा आउँदा कडा रासायनिक प्रतिक्रियाको सम्भावना हुन्छ ।’

विस्फोटबाट बन्ने ग्यास कति खतरनाक हुन्छ ?

जब एमोनियम नाइट्रेट विस्फोट हुन्छ तब यसबाट नाइट्रोजन अक्साइड तथा एमोनियाजस्ता विषालु ग्यास निस्कन्छ । यसबाट वायुप्रदुषण बढ्न जान्छ ।

प्रोफेसर सेला भन्छन्, ‘जब विस्फोट हुन्छ त्यहाँ ठूलो हावा चलेन र धुवाँ गुम्सिएर बस्यो भने त्यहाँ आसपासका मानिसमा ठूलो खतरा हुन्छ ।’

के यसको प्रयोग बम बनाउनका लागि गरिन्छ ?

जबरदस्त विस्फोटको तागत भएको यस केमिकल कम्पाउण्डको प्रयोग दुनियाभरको सेनाहरुले विस्फोटक पदार्थ बनाउनमा प्रयोगमा ल्याउने गर्दछन् । चरमपन्थी गतिविधिमा पनि एमोनियम नाइट्रेटको प्रयोग भएको पाइन्छ । सन् १९९५ मा अमेरिकाको ओक्लाहो शहरमा एमोनियम नाइट्रेटको कहर दुनियाले देखिसकेका छन् ।

यस घटनामा टिमोथी मेकवे ले २ टन एमोनियम नाइट्रेटको प्रयोग गरी एउटा यस्तो बम निर्माण गरेका थिए जसले एक फेडरल बिल्डिङ ध्वस्त भएको थियो । जसमा १ सय ६८ जनाको ज्यान गएको थियो ।

अरु बेलामा पनि एमोनियम नाइट्रेटका कारण विस्फोट भएको थियो ?

सन् १९२१ मा जर्मनीको ओप्पाउ शहरमा एक कारखानामा विस्फोट भएको थियो जसमा एमोनियम नाइट्रेटको मात्रा ४५०० टन रहेको थियो । उक्त विस्फोटमा ५०० भन्दा बढीको ज्यान गएको थियो ।

अमेरिकामा सन् १९४७ मा टेक्ससको गोलवेस्टेशन मा पनि एमोनियम नाइट्रेट विस्फोट भएको थियो । बंदरगाहमा रहेको एक जहाजमा २००० टन एमोनियम नाइट्रेट विस्फोट हुँदा ५८१ जनाको ज्यान गएको थियो ।

सन् २०१५ मा चीनको तियानजिन बन्दरगाहमा एमोनियम नाइट्रेटसँग जोडिएको एक दुर्घटनामा १७३ मानिसको ज्यान गएको थियो  ।

–बीबीसीबाट