Aafno Khabar

यही अवस्थामा काेराेना फैलिरहे फेरि लकडाउन हुन्छ : स्वास्थ्य मन्त्रालय

  • आफ्नो खबर
  • August 3, 2020 प्रकाशित

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि जोखिम व्यवस्थापन गर्न ठाउँ ठाउँमा लकडाउन गर्न सक्ने संकेत गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले केही दिन यताको जसरी नै संक्रमण बढिरहे बन्दाबन्दी गर्नुपर्ने अवस्था आउने बताउनुभएकाे हाे ।

प्रेस ब्रिफिङका क्रममा उहाँले भन्नुभयाे  ‘जनस्वास्थ्य सुरक्षा अपनाऊँ। मास्क लगाऔँ, साबुनपानीले हात धोऔँ। आफू पन बचौँ अरुलाई पनि बचाऔँ ।’

नेपाल कोरोनाको उच्च जोखिममा रहेको पनि डा. गौतमले बताउनुभयाे ।

सरकारले लकडाउन खुला गरेपनि काेराेना संक्रमण तीव्र रुपमा फैलिएका कतिपय ठाउँहरुमा स्थानीय सरकारले नै लकडाउन गर्न थालेका छन् ।

पछिल्ला समय सबैभन्दा बढी प्रदेश २ को विभिन्न स्थानमा कोभिड १९ को संक्रमण फैलिन थालेपछि विभिन्न सहरहरुमा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ५ सहर र १ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

प्रदेश २ को पूर्वी सीमानामा पर्ने सप्तरी जिल्लाको सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

लकडाउन खुलेर यातायात सञ्चालनमा आएपछि देशभर नै काेराेना संक्रमितकाे संख्या पनि बढीरहेकाे छ । साेमबार नेपालमा ४ सय १८ जना काेराेना संक्रमित भेटिएका छन् ।