काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा मूल्यांकन कार्यविधि स्वीकृत गरेको छ ।
कार्यविधिले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी आधिकारिक रुपमा विद्यार्थी अध्ययनरत विद्यालयलाई नै दिएको छ ।
बोर्डले लिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनत्तम ‘डि प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनै पर्ने बताइएकाे छ ।
कार्यविधिको परिच्छेद ३ ले विद्यार्थीको मूल्यांकनसम्बन्धी व्यवस्था गरेको छ जसअनुसार कक्षा ११ मा ७० प्रतिशत हाजिर भएका विद्यार्थीलाई मात्रै अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने छ ।
कक्षा ११ को परीक्षा आउँदो माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने छ । ढिलोमा २०७८ सालको वैशाख/जेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।