Aafno Khabar

राष्ट्रिय अखण्डतामा आँच आउने भन्दै जसपालाई दलको मान्यता नदिन युवासंघको माग

  • April 26, 2020 प्रकाशित

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोक्न माग गर्दै सत्तारुढ नेकपा निकट युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता अमित लामाले आइतबार निर्वाचन आयोगमा पुगेर राष्ट्रिय अखण्डता र परराष्ट्र सम्बन्धमा आँच आउने भन्दै जनता समाजवादी पार्टी दल दर्ताको निवेदन अस्विकार गर्न निर्वाचन आयोगसमक्ष आग्रह गर्दै उजुरी दिएका हुन ।

जनता समाजवादी पार्टीले दल दर्ताका लागि दिएको निवेदनमा नेपाल बहुराष्ट्रिय राज्य कायम गर्ने भनेको र सो कुरा मुलुकको संविधान तथा राष्ट्रिय अखण्डताको विपरीत रहेको निवेदनमा उल्लेख छ ।

संविधानको मर्म र भावना विपरीत छुट्दै देशको अर्थ झल्किने गरी दल दर्ताको प्रस्ताव गरिएकोले संविधानको धारा २६९ विपरीत रहेको सो दल दर्ता प्रक्रिया रोक्न निवेदनमा माग गरिएको छ ।

त्यस्तै प्रस्तावित दल जनता समाजवादी पार्टीले प्रस्ताव गरेको झण्डा अफ्रिकी मुलुक बुर्किना फासोको राष्ट्रिय झण्डासँग मेल खाएकाले परराष्ट्र सम्बन्धमा प्रतिकूल असर गर्ने र संयुक्त राष्ट्रसंघको बडापत्र विपरीत भएकाले त्यस आधारमा समेत दल दर्ता रोक्न माग गरिएको छ ।

युवासंघका केन्द्रीय सदस्य अमित लामा र अधिवक्ता विपिन ढकालको उजुरी दर्ता गर्ने क्रममा संघका केन्द्रीय सहसंयोजक रमेश पौडेल पनि निर्वाचन आयोगमा पुगेका थिए ।