Aafno Khabar

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

  • March 18, 2020 प्रकाशित

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

यस वर्षको एसईई परीक्षामा चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । प्राविधिकतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् ।

त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुने बताइएकाे छ ।

परीक्षामा करिब ६५ हजार जनशक्ति परिचालन गरिने भएको छ । परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष, दुई जना सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचारक खटाइएको छ । त्यस्तै, प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी खटाइने जानकारी गराइएकाे छ ।

कसैले परीक्षाको मर्यादा भङ्ग गर्ने वा बिथोल्ने काम गरे कानुनअनुसार छ महिना कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।