Aafno Khabar

लिवर्टी इनर्जीले १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

  • February 28, 2020 प्रकाशित

काठमाडाैं ।  लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी साधारण शेयर बिक्री गर्न लागेको जानकारी दिएको हो । प्रकाशित विवरणअनुसार कम्पनीले पहिलो चरणमा लमजुङका आयोजना प्रभावितका लागि १५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर यही फागुन २७ गतेदेखि बिक्री गरिनेछ ।

आयोजना प्रभावितलाई छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो । प्रतिकित्ता रु १०० का दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने विवरणमा समावेश छ ।

यस्तै दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणलाई रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने जनाएको छ । इक्रा नेपालले गरेको रेटिङमा कम्पनीको शेयरले ‘इक्रा एनपी ग्रेड ४’ पाएको छ ।

कम्पनीले कूल २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि आयोजनाले व्यावासायिक विद्युत् उत्पादन गर्ने जनाएको छ ।