काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे फेरि छलफल सुरु भएको छ ।
शनिबार बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रपतिले मनोनित गरेर राष्ट्रियसभामा लैजाने प्रस्ताव नेताहरुले गरेका थिए ।
तर गौतमले भने संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खोल्ने भए मात्र आफूले यो प्रस्ताव मान्ने तर्क गरेका छन । गौतम यसअघि पनि उनी शर्त राखेर राष्ट्रियसभा सदस्यको चुनाव लड्न अस्वीकार गरेका थिए ।
तत्कालिन एमाले र माओवादीको एकिकरण प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेका गौतम प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए ।
दुई पार्टी मिलेर बनेको नेकपाको तर्फबाट पराजित हुने गौतमले आफू पराजित हुनुमा पार्टी नेतृत्वको हात रहेको आरोप लगाएका थिए । पार्टी एकिकरणको समयमा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र गौतमबीच आलोपाले प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।
सोही सहमतिको कार्यान्वयन गर्नुपर्ने देखेर पार्टी नेतृत्वले प्रतिनिधिसभा निर्वाचनमा चलखेल गरेको गौतम पक्षधरको आरोप रहेको छ ।
गौतमलाई प्रतिनिधिसभामा लानका लागि नेकपाका केही नेताले काठमाडौंबाट एकजनालाई राजीनमा दिन लगाएर त्यहाँ उपनिर्वाचन गराउने तयारी पनि गरेका थिए । तर सो प्रस्तावलाई लिएर नेकपामा चर्को विवाद भएपछि गौतम पछि हटेका थिए ।