काठमाडौं । आफ्नै कर्मचारीमाथि कार्यालयमै बलात्कार गरेको गम्भीर अभियोगमा दूरदर्शन सहकारी संस्थाका प्रबन्धक प्रमोदचन्द्र अधिकारी यतिबेला महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा छन् ।
कार्यालयमै कर्मचारीमाथि बलात्कार गरेको र सिसिक्यामेराको भिडियो राखेर ब्लाकमेलिङ गरेको अभियोगमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धानको क्रममा अनौठो तथ्य फेला परेको छ । सहकारीमा काम गर्ने ती युवतीले सहकारीको लाखौं रकम हिनामिना गरेकी थिइन् ।
त्यसउपर अदालतमा मुद्दासमेत चलिरहेको छ । त्यही मुद्धाको बदलामा प्रबन्धकविरुद्ध नै बलात्कार मुद्दा दिएर आफू बच्न खोजेको अनुसन्धानमा खुलेको छ ।
ती युवतीले आफूमाथि गएको भदौमा बलात्कार भएको भनेर गएको सातमात्रै उजुरी दिएकी छिन् । गएको भदौमा भएको बलात्कारको युवतीले अहिले उजुरी दिनु र यो बीचमा लेनदेनको विवाद हुनुले युवतीले लाखौँ रुपैयाँ पचाउन यसरी बलात्कार मुद्दाको दुरुपयोग भएको अनुसन्धानमा देखिएको छ ।
अहिले ती युवतीले आफूमाथि रहेको ठगीको मुद्दा फिर्ता लिएमात्र आफूहरुले उजुरी फिर्ता लिने भनेर ब्लाकमेलिङ सुरु गरेको पनि स्रोतले बताएको छ । युवतीले भने गएको भदौमा प्रबन्धकले आफूमाथि बलात्कार गरेको बताउँदै आइरहेकी छिन् ।