डोटी । अछाम बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन गाउँमा शनिबार छाउगोठ भत्काउने अभियान थियो । छाउगोठ भत्काउन जयगढबाट प्रहरी हबल्दार धनबहादुर कैलासहितको टोली पुग्यो ।
प्रहरी सहितको टोलीले छाउगोठ भत्काउन लाग्दा स्थानीय एक महिलाले बिरोध गरिन् । तर टोलीले उनको कुरा सुन्दै नसुनी भत्काउन थाल्यो । आक्रोशित महिलाले दाउराले प्रहरी हबल्दार कैलामाथी प्रहार गरिन् । कैला घाइते भए । उनको कम्मरमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
हवल्दार कैलामाथी आक्रमण गर्ने स्थानीय ५४ वर्षीया धना साउँदलाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले घटनाको पुष्टि गर्दै यसबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।
गत पुस ९ गते संघीय सरकारको गृह मन्त्रालयले छाउगोठ भत्काउन निर्देशन दिएपछि अहिले सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा गोठ भत्काउने अभियान जारी छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका अनुसार शनिबारसम्म पाँच हजार आठ सय ८० छाउगोठहरु भत्काइएका छन् । अछाममा सबैभन्दा बढी चार हजार सात सय ३३ गोठ भत्काइएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।
यस्तै बाजुरामा तीन सय ३५, कैलालीमा दुई सय ७३ र डोटीमा दुई सय १७ छाउगोठहरु भत्काइएको कार्यालयले जानकारी दियो । कञ्चनपुरमा एक सय ९१, बझाङमा एक सय आठ र डडेल्धुरामा २३ छाउगोठ भत्काइएको उक्त कार्यालयसँग तथ्यांक छ ।
बैतडी र दार्चुलामा भने छाउगोठ नभएको स्थानीय प्रशासनको दावी छ । ‘हामीले प्रहरी र स्थानीय तहमार्फत खोजी गर्यौं,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल भन्छन्, ‘एउटा पनि छाउगोठ नभेटिएको भन्ने रिपोर्ट हामीलाई आएको छ ।’