Aafno Khabar

सुनकाे मूल्य अहिलेसम्मकै उच्च, अझै बढ्ने सम्भावना

  • February 2, 2020 प्रकाशित

काठमाडाैं । आइतबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटेर ७४ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरि बढेर आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको हो ।

यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

चीनमा कोरोना भाइरस तीव्र गतिमा फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।

समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाग बढेकाले भाउ अझै बढ्ने देखिएको छ ।