काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले केन्द्रीय समिति बैठकमा पार्टी, सरकार र नेतृत्वको खुलेर आलोचना गरेका छन । विभिन्न समूहले आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा पार्टी, सरकार र नेतृत्वबीचको तालमेलन मिल्न नसकेको भन्दै आलोचना गरेका हुन ।
एमसीसीबारे पार्टीले समान धारणा बनाउनुपर्ने भन्दै नेताहरुले यसबारे टुँगो लगाउन विज्ञ र पार्टी नेतासहितको आयोग गठन गर्नुपर्ने माग गरेका छन । यस्तै नेताहरुले सरकारी जग्गा विवादमा पर्न थालेको भन्दै त्यसका लागि पनि आयोग बनाउनुपर्ने माग गरेका छन् ।
यसैबीच नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले १० बुँदे फरक मत राख्नुभएको छ । आजको बैठकमा उहाँले १० बुँदे फरक मत राख्नुहुँदै एमसीसी परियोजना संशोधन गर्नुपर्ने बताउनुभएको हो । धारा ७ को दफा ७.१ मा ‘प्रस्तुत सम्झौता र नेपालको कानून बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ’ भन्ने वाक्य हटाउनुपर्ने बताउनुभयो ।
बैठकमा समूहका तर्फबाट खिमलाल भट्टराई, जगन्नाथ खतिवडा, ठाकुर गैरे, पूर्णकुमारी सुवेदी, रेणु दाहाल लगाएतले प्रतिवेदन पेश गरेका छन । धारणा तय गर्न भन्दै केन्द्रिय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको थियो ।
प्रतिवेदन राख्ने क्रम सकिए पछि आइतबार पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका छ । नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु भएको हो ।