Aafno Khabar

बिरुवा बेचेर वार्षिक २० लाख आम्दानी

  • २०७६ माघ ५ गते ०६:५६ प्रकाशित

सुर्खेत । बराहताल गाउँपालिका सुर्खेतका जीतबहादुर शाही घाँसका बिरुवा बेचेर बर्सेनि १०-१२ लाख रुपैयाँ कमाउने बताउँछन्।

आर्थिक समस्याले गर्दा विगतमा बिहान-बेलुकीको छाक जुटाउन मुस्किल पर्ने उनका ‘बिरुवा बेच्न थालेपछि सबै दु:ख हराए’।

शाहीमात्रै होइन, नर्सरीलाई व्यवसायको रूपमा अपनाएर कर्णालीका युवाहरूले गाउँमै लोभलाग्दो आम्दानी गरिरहेका छन्।

कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा झण्डै डेढ सय युवाले नर्सरी व्यवसाय गरेर वार्षिक २० करोड रुपैयाँ आम्दानी गर्दै आएका छन्।

आठ वर्षदेखि नर्सरी सञ्चालन गरिरहेका कुशे गाउँपालिका जाजरकोटका शिव मल्ल पनि बिरुवाबाट गतिलो आम्दानी गरिरहेको बताउँछन्।

भारतको शिमलामा काम खोज्न गएको बेला नर्सरीमा काम गरेको अनुभव उनले गाउँ फर्केर सुन्तलाको नर्सरीमा प्रयोग गरे।

उनी भन्छन, “नर्सरीबाट बर्षेनि १४-१५ लाख रुपैयाँ कमाइ हुन्छ। परिवार पाल्न, छोराछोरी पढाउन र अप्ठ्यारो पर्दा छरछिमेकलाई सहयोग गर्न पुगेको छ।”

चन्दननाथ नगरपालिका जुम्लाका अमर रावत पनि बर्सेनि स्याउका २७-२८ हजार बेर्ना बेच्छन्।

सात वर्षदेखि स्याउको नर्सरी चलाउँदै आएका उनी जुम्लामै उत्पादन भएका बिरुवामा रोग किरा कम लाग्ने, वातावरण अनुकूल र गुणस्तरीय हुने भएकोले व्यवसाय फस्टाएको बताउँछन्।

रोयल, रेड र गोल्डेन डेलिसियस जातका स्याउका बेर्ना उत्पादन गर्दै आएका उनी भन्छन, “बेर्ना बेचेर वार्षिक १४-१५ लाख रुपैयाँ कमाउँछु। श्रम गर्न छोडिएन, त्यसैले सफल भइयो।”

स्याउ, सुन्तला, टिमुर, अलैँची, ओखर, अनार र कागतीजस्ता विभिन्न जातका बिरुवाबाट वर्षमा सातदेखि २० लाख रुपैयाँसम्म कमाइ हुने उनीहरू बताउँछन्।