Aafno Khabar

महिला प्रहरीले दुर्ववहार गरेकाे गायिका राउतकाे आरोप

  • January 16, 2020 प्रकाशित

काठमाडौँ । फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका आस्था राउत फेरि विवादमा तानिएकी छन् । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी छन् ।

भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन्। उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्।

पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि आस्था सिक्किम जाँदै थिइन्। आस्थाको फेसबुक पेजमा यो भिडियोले १ लाख ८१ हजार भ्युज पाइसकेको छ। अन्य पेजबाट पनि शेयर भइरहेको छ।
नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले आस्था राउतको भिडियो आफूले पनि हेरेको र त्यसलाई छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताए। ‘उहाँले विमानस्थलमा आफू माथि दुर्व्यवहार गरिएको भन्नुभएको छ। त्यसको छानबिन गर्छौं। साथै उहाँले भिडियोमा प्रयोग गर्नुभएको भाषा निक अशिष्ट छ। त्यसप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले भने।