काठमाडौं । शेयर बजारमा सुधार आएपछिकारोबार नै नहुने कम्पनीहरुको पनि शेयर खरिद बिक्री हुन थालेको छ। लगानीकर्ता आफुसँग भएको रकमका आधारमा कम्पनीहरु छान्न थालेका हुन्।
धेरै पैसा लगानी गर्न सक्ने लगानीकर्ताहरु लघुवित्त तथा बीमा कम्पनीका शेयर खरिद बिक्री गरिरहेका छन्। थोरै पैसा हुने लगानीकर्ताले सस्ता बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानी गर्न उत्सुक देखिएका छन्।
लगातार बजार सुधार हुने क्रममा सोमबार पनि शेयर बजार १५.१४ अंकले बढेको छ। नेप्से सूचक १.२१ प्रतिशतले सुधार भएर १२७०.८७ अंकमा रोकिएको छ। बजार हरियो देखिएसँगै कारोबार रकम लगातार बढिरहेको छ। सोमबार एक अर्ब ७० करोड रुपैयाँको खरिद बिक्री भएको छ।
बजार घटेको समयमा एउटै कम्पनीमा लगानी केन्द्रित रहँदै आएकोमा पछिल्लो समय खरिद बिक्रीमा विविधता देखिँदै आएको छ। एक अर्ब ७० करोड रुपैयाँको खरिद बिक्री भएकोमा सबैभन्दा धेरै नेपाल टेलिकमको छ करोड चार लाख रुपैयाँको खरिद बिक्री भएको छ।
दोस्रोमा नेपाल लाइफको ५ करोड ९७ लाख रुपैयाँको खरिद बिक्री भएको छ। घोडिघोडा लघुवित्त र सानिमा माइ हाइड्रोपावरको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको हो। सोमबार १८३ वटा कम्पनीको शेयर कारोबार हुँदा १०६ वटाको मूल्य बढेको छ भने ५० वटाको मूल्यमा गिरावट आएको छ।
माइक्रोफाइनान्सको शेयरमा नाफा बुक गर्न खोज्दा सूचक भने थोरैले घटेको छ। त्यस्तै उत्पादन तथा प्रसोधनमुलक कम्पनीको सूचक पनि घटेको हो। व्यापारको सूचक भने ३.६६ प्रतिशतले बढेको छ।